नुवाकोट, वैशाख ३१ :

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा  नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् ।

विद्यालयबाट फर्केपछि हिजो साँझ  नुहाउन गएका सोही स्थानका ११ वर्षीया बालिकाहरु जेनी डङ्गोल र सदीक्षा राई नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवै जनालाई बगाएको सँगै नुहाउन गएका उनीहरुका साथीहरुले बताएका छन् ।

बगाएको सूचना पाएलगत्तै खोजी थाले पनि उनीहरुको अवस्था आज राति १० बजेसम्म पत्ता लाग्न नसकेको बेलकोटगढी–७ का वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिनुभयो । स्थानीयवासीको साथमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले उनीहरुको खोजी गरिरहेको  छ ।