माेरङ, वैशाख ३१ :

मोरङको रतुवामाई नगरपालिका–३ मा विवाहको तयारीकै बेला करेन्ट लागेर दुई महिलाको ज्यान गएपछि खुशीयाली शोकमा परिणत भएको छ।

मंगलबार साँझ टिकाटालो कार्यक्रमपछिको रमाइलोका क्रममा आएको हावाहुरीले माइक बाँधिएको बाँस विद्युतको नाङ्गो तारमा ठोक्किँदा करेन्ट लिक भइ दुर्घटना भएको हो।

स्थानीय गान्धीप्रसाद सिंहको घरमा रमाइलोका लागि भेला भएका महिलाहरूलाई ओत लाग्ने क्रममा करेन्ट लागेको वडासदस्य गिर्जाप्रसाद ताजपुरियाले जानकारी दिए।

दुर्घटनामा परी ७३ वर्षीया सूर्यदेवी गन्गाई र ७० वर्षीया रामुदेवी गन्गाईको ज्यान गएको हो। उनीहरू बेहुली प्रियंका सिंहका नातेदार हुन्। ३० वर्षीया राधाकुमारी सिंह घाइते भएकी छन्।

करेन्ट लागेपछि बेहोस भएका तीनैजनालाई तत्काल रंगेली अस्पताल लगिएकोमा सूर्यदेवी र रामुदेवीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बुधबार बेहुला निरजकुमार सिंह र बेहुली प्रियंका सिंहको विवाह हुने तय थियो। तर मंगलबारको घटनाले गाउँ नै शोकमा डुबेको छ।