काठमाडौं, वैशाख ३१ :

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्ज र परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको स्रेस्तामा रहेको भन्दा बैंक खातामा ३० करोड रुपैयाँ कम मौज्दात रहेको पाइएको छ।

महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनले छानबिन गरी बैंकमा कमी देखिएको रकम असुलउपर गर्न सुझाएको हो । बुधबार सार्वजनिक भएको प्रतिवेदनअनुसार टिचिङ अस्पतालको २० करोड ४१ लाख ७४ हजार र पनिकाको १० करोड १० लाख ३४ हजार रुपैयाँ गायब देखिएको हो ।

‘शिक्षण अस्पतालको आर्थिक वर्ष ०८०/८१ को विवरणअनुसार ९४ करोड ७८ हजार मौज्दात देखिएको छ । तर स्रेस्तामा उल्लेखित रकमभन्दा बैंकमा २० करोड ४१ लाख ७४ हजार रुपैयाँ कम मौज्दात देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विगतदेखि नै सबै खाताको बैंक हिसाब मिलान विवरण तयार नगरेको हुँदा छानबिन गरी कमी देखिएको रकम असुल गर्नुपर्दछ ।’

आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्बभन्दा बढी बेरुजु

त्यस्तै प्रतिवेदनअनुसार पनिकाको वित्तीय विवरणअनुसार ९९ करोड ९९ लाख ८२ हजार मौज्दात देखिए पनि बैंकमा १० करोड १० लाख ३४ हजार रुपैयाँ कम मौज्दात छ ।

महालेखाले आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आव ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गरेका हुन् ।