काठमाडौं, वैशाख ३१ :

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक जग्गाको अधिग्रहण मन्त्रिपरिषद्को निर्णयले भएको प्रस्टीकरण दिएको छ ।

विमानस्थलका नाममा आवश्यकताभन्दा बढी जग्गा अधिग्रहण भएको भनी प्रश्न उठेको बेला प्राधिरणकले मन्त्रिपरिषद्को निर्णयले जग्गा खरिदको कार्य भएको प्रस्टीकरण दिएको हो । प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने जग्गाको खरिद कार्यबारे जानकारी दिएको हो ।

‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपूर्व सो स्थानमा भैरहवा विमानस्थलको नाममा विसं २०१५ सालबाट नै आन्तरिक उडानहरू सञ्चालन हुँदै आएका थिए । आन्तरिक विमानस्थललाई समयक्म अनुसार नियमित रुपमा स्तरोन्नति गर्ने नेपाल सरकारको योजनाबमोजिम उक्त विमानस्थललाई आवश्यक पर्ने उड्डयन संरचना निर्माणको लागि नेपाल सरकार मन्त्रिपरिषद‌को निर्णयानुसार विभिन्न मितिमा पटक-पटक जग्गा अधिग्रहणको कार्य हुँदै आएको,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले विमानस्थलका नाममा हाल करिब ५०० बिघा रहेको पनि जानकारी दिएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पका रुपमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने उद्देश्यले मन्त्रिपरिषद‌्को २०७२ पुस २९ तथा २०७३ बैशाख ७ को निर्णयबमोजिम हालसम्म करिब ४५३ बिघा जग्गा अधिग्रहण भएको र अन्य करीब ४७ बिघा सार्वजनिक जग्गा (पर्ती, ऐलानी, खोला, कुलो आदि) गरी करिब ५०० बिघा मात्र रहेको,’ प्राधिकरणले भनेको छ ।

विमानस्थलको गुरुयोजनाबमोजिम कूल उपलब्ध जग्गालाई धावनमार्ग, ट्याक्सी-वे, जहाज पार्किङ क्षेत्र, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल टावर, विभिन्न इक्विपमेन्ट एरिया, फ्लाइट क्याटरिङ, डिजास्टर रेस्पोन्स तथा विमानस्थल उद्धार तथा अग्नि निवारण भवन तथा वारुणयन्त्र पार्किङको लागि जग्गा खरिद गरिएको प्राधिकरणको भनाइ छ ।