काठमाडाैं, वैशाख ३१ :

 तपाईंलाई पनि राति ओछ्यानमा पल्टिएपछि धेरै बेरसम्म निन्द्रा लाग्दैन? अनि बारम्बार यताउति गरिरहनुहुन्छ? आँखा त थाकेको हुन्छ, तर दिमाग स्थिर हुँदैन? यदि यस्तो अनुभव भइरहेको छ भने, तपाईं एक्लो हुनुहुन्न।

एक अध्ययनअनुसार, विश्वभरमा हरेक ३ जनामध्ये १ जनाले कहिलेकाहीं अनिद्राको लक्षण महसुस गर्ने गरेका छन्। यस्तै, १०% मानिसमा यो दीर्घकालीन (क्रोनिक) अनिद्रा डिसअर्डरको रूपमा देखिएको छ।  हरेक ४ जनामध्ये १ जनाले अनिद्राको सामना गरिरहेको अध्ययनले देखाएको छ।

 यदि कसैलाई ओछ्यानमा गएको ३० मिनेटभित्र निन्द्रा लाग्छ र रातभरमा ५ मिनेटभन्दा बढी समयको लागि निन्द्रा खुल्दैन भने त्यसको अर्थ उनीलाई राम्रो निन्द्रा आएको मानिन्छ। तर, यदि यस्तो छैन भने तपाईंको निन्द्रामा समस्या हुन सक्छ।

के हो अनिद्रा ?

अनिद्रा भनेको यस्तो स्थिति हो जहाँ व्यक्तिलाई सुत्न गाह्रो हुन्छ, रातभर बारम्बार निन्द्रा खुल्ने गर्छ, वा बिहान अत्यन्तै चाँडै आँखा खुल्छ र पुनः निन्द्रा लाग्दैन।

किन लाग्दैन निन्द्रा?

– तनाव, चिन्ता वा मानसिक अशान्ति
– मोबाइल, ल्यापटप जस्ता स्क्रिनको अत्यधिक प्रयोग
– अनियमित जीवनशैली र खानपान
– ओछ्यानमा गएपछि पनि सोचाइहरू रोक्न नसक्नु
– कैफिन वा निकोटिनको अत्यधिक सेवन

कसरी पाउने राम्रो निन्द्रा?

– सुत्ने समय निश्चित गर्नुहोस्
– सुत्नुअघि मोबाइल प्रयोग नगर्नुहोस्
– मन शान्त राख्न ध्यान वा गहिरो सास लिने अभ्यास गर्नुहोस्
– हल्का खाना खानुहोस् र कफीबाट टाढा रहनुहोस्
– आफ्नो शयनकक्षलाई न्यानो, अँध्यारो र शान्त बनाउनुहोस्

यदि तपाईं पनि लगातार रातमा सुत्न गाह्रो अनुभव गर्दै हुनुहुन्छ भने अब यसलाई सामान्य नठानी आवश्यक सल्लाह लिनु जरुरी छ। किनभने राम्रो निन्द्रा नै राम्रो स्वास्थ्यको पहिलो सर्त हो।