काठमाडौं, जेठ १ :

टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएसँगै नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सांसद पद निलम्बनमा परेको हो।

टेलिकम क्षेत्रसम्बन्धी टेरामक्स प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जना र केही कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले उनीहरूविरुद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा अघि बढाएको छ। यस प्रकरणमा सरकारी कोषमा ठगी गरेको र कार्यसम्पादन सन्तोषजनक नहुँदै अनियमित तरिकाले रकम भुक्तानी गरिएको आरोप लगाइएको छ।

विशेष अदालतमा मुद्दा दर्ता भएसँगै बस्नेतसहित संलग्नहरूमाथि कानुनी प्रक्रिया अघि बढ्नेछ।