
प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा पनि आर्थिक वर्ष ०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । संसद् सचिवालयका अनुसार सांसदहरुको धारणा राख्ने क्रम पनि आजै सकिनेछ ।
आजको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ पनि दिने कार्यक्रम छ ।
बिहान ११ बजे सुरु हुने बैठकमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि यही प्रस्तावमा छलफल भइरहेको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो ।