काठमाण्डौं, जेठ ३ :

रुस र युक्रेनबीच युद्ध सुरु भएको तीन वर्षभन्दा बढी समयपछि दुबै देशका प्रतिनिधिहरु पहिलो पटक वार्ताका लागि आमनेसामने भएका छन् । वार्तामा ठोस सहमति नभएपनि कैदी आदानप्रदानमा सहमति भने भएको छ । 

इस्तानबुलमा भएको हिजोको वार्तालाई कूटनीतिको लागि एउटा सानो कदमको रुपमा अगाडि बढेको बताईएको छ।

१९४५ पछिको युरोपको सबैभन्दा घातक युद्धको रुपमा रुस युक्रेनको युद्धलाई लिईएको छ ।  

टर्की र अमेरिकाको दबाब र प्रोत्साहनले युद्धरत पक्षहरूलाई एकै ठाउमा ल्याउन मद्दत गरेको हो । वार्तामा बस्ने क्रममा एकअर्काले हात समेत मिलाएका थिएनन् । युक्रेनी प्रतिनिधिमण्डलले सैन्य पोशाकमा नै उपस्थित भएका थिए ।   बैठक कोठा युक्रेनी,टर्की र रूसी झण्डाहरूले सजाइएको थियो ।

वार्तामा  टर्कीका विदेशमन्त्री हाकान फिदानले प्रतिनिधिमण्डलहरूलाई दुईवटा बाटो अगाडि रहेको बताएका थिए । "एउटा शान्तितर्फ लैजाने बाटो र अर्को थप मृत्यु र विनाशतर्फ लैजाने बाटो।"

वार्ता करीब दुई घण्टासम्म चल्यो । तर चाँडै नै वार्ताका क्रममा तीव्र विभाजन देखा पर्‍यो। क्रेमलिनले नयाँ र अस्वीकार्य मागहरू राखेको एक युक्रेनी अधिकारीले बताएका छन् । त्यसमा युद्धविरामको बदलामा कीभलाई आफ्नै क्षेत्रको ठूलो भागबाट आफ्ना सेना फिर्ता गर्न जोड दिएको थियो ।

युद्धविरामको महत्वपूर्ण मुद्दामा कुनै सफलता नभए पनि अपेक्षा गरिएअनुसार एउटा ठोस परिणाम आउने अपेक्षा गरिएको छ ।

प्रत्येक पक्षले १ हजार युद्धबन्दीहरूलाई फिर्ता गर्नेछ । 

आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने युक्रेनका रक्षामन्त्री रुस्तेम उमरोभले आदानप्रदान चाँडै हुने बताए ।  तर अहिले नै मिति भने घोषणा गरिएको छैन् । अर्को चरणमा जेलेन्स्की र पुटिन बीचको बैठक हुनुपर्ने युक्रेनीको भनाई छ ।

रूसी प्रतिनिधिमण्डलका प्रमुख  राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले रूसी प्रतिनिधिमण्डल वार्ताबाट सन्तुष्ट छ र सम्पर्कहरू जारी राख्न तयार रहेको बताएका छन् ।