काठमाण्डौं, जेठ ४ :

रुस र युक्रेनबीच शनिबार भएको वार्तापछि हमासले नयाँ गाजा युद्धविराम सम्झौता अन्तर्गत थप बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ। हमासले ६० दिनको युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा ९ जना बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको  एक प्यालेस्टिनी अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

दोहामा कतारी र अमेरिकी मध्यस्थकर्ताहरू मार्फत युद्धविराम वार्ता भइरहेको छ र वार्ता शनिबार दिउँसो स्थानीय समय अनुसार सुरु भएको हो। इजरायली सेनाले गाजा पट्टीमा आक्रमण सुरु गरेको केही घण्टापछि वार्ता सुरु भएको हो ।

नयाँ प्रस्तावित सम्झौताले हरेक दिन ४ सय सहायता ट्रकहरूलाई प्रवेश दिने र बिरामीहरूलाई गाजाबाट बाहिर निकाल्न पनि अनुमति दिनेछ । त्यस्तै इजरायलले बदलामा बाँकी सबै बन्धकहरूको बारेमा विस्तृत जानकारी माग गरेको बताईएको छ । तर इजरायलले प्रस्तावित सम्झौताको सार्वजनिक रूपमा प्रतिक्रिया भने दिएको छैन । वार्ता अघि उसले गाजाबाट सेना फिर्ता नगर्ने वा युद्ध अन्त्य गर्ने भन्ने प्रतिबद्धता नगर्ने बताएको छ ।

उद्धारकर्ताहरूले बिहीबारदेखि कम्तिमा ३ सय जनाको मृत्यु भएको बताएका छन् । आक्रमण स्ट्रिपको उत्तर र दक्षिणमा रहेका अस्पताल र शरणार्थी शिविरहरूमा गरिएको थियो ।

दुई महिनासम्म चलेको कमजोर युद्धविरामपछि इजरायलले मार्च १८ मा पुनः आक्रमण सुरु गरेदेखि हजारौंको मृत्यु भएको छ।

सहायता एजेन्सीहरूले गाजाको मानवीय अवस्था गम्भीर रुपमा बिग्रिएको बताएका छन् । इजरायलले १० हप्तादेखि सो क्षेत्रमा खाद्यान्न र अन्य सहायताको आपूर्तिमा रोक लगाएको छ ।