
नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभाको बैठकमा दुवै विधेयकलाई दफाबार छलफलका लागि समिति पठाउने प्रस्ताव पेस गरेका थियो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।
अब यी विधेयकहरू प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफाबार छलफल हुनेछन् । समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ ।
सरकारले यी विधेयक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ । प्रस्तावित विधेयकअनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्थामा विभाजन गरिनेछ- नियामक निकायका रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक संस्थाका रूपमा नेपाल हवाई सेवा प्राधिकरण रहनेछन् ।