काठमाडौं, जेठ ४ :

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले सत्तारुढ प्रमुख दल करोडौं रुपैयाँ असुलीको उद्देश्यसहित उपसभामुख हटाउने तयारी गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले जेठभित्रै उपसभामुखलाई हटाएर आफ्ना मान्छे नियुक्त गर्ने योजना कांग्रेसले बनाएको बताए।

सिंहले संवैधानिक निकायमा नियुक्ति गर्न करोडौं रुपैयाँ लिने तयारी भइरहेको दाबी गर्दै पूर्वसचिवहरूलाई १०–१५ करोड लिएर तयार बस्न आग्रहसमेत गरे।

उनले कांग्रेसलाई आगामी चुनावका लागि पैसा संकलन गर्ने उद्देश्यले यस्तो खेलमा लागेको आरोप लगाए। उनले भने,‘कांग्रेसलाई पैसाबाहेक अरू केही चाहिएको छैन।’

सिंहले कांग्रेसमाथि आदिवासी जनजाति र महिलामाथि विभेद गरेको आरोप पनि लगाए। कुलमान घिसिङ र कान्छाराम तामाङलाई जनजाति भएकै कारण हटाएको र एक वरिष्ठ महिलालाई सचिव बन्न नदिएको दाबी गरे।