
प्रधानमन्त्री केपी शर्मा ओलीले टेबल टेनिस खेल्दै युवा खेलाडीलाई उत्साहजनक सन्देश दिएका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (आइतबार) आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओली आफैँ टेबल टेनिस खेल्न तम्सिए ।
‘दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता-२०२५’ मा पदक विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्ने क्रममा प्रधानमन्त्री ओलीले केहीबेर उनीहरुसँग टेबल टेनिस खेलेर प्रोत्साहन दिए। उनले खेलाडीलाई उच्च मनोबलका साथ विश्व प्रतिस्पर्धामा जुट्न शुभकामना पनि दिए ।
नेपाल टेबल टेनिस संघद्वारा गत २४ देखि २७ अप्रिलसम्म राजधानीमा आयोजित प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १२ पदक हात पार्न सफल भएको थियो । यू-१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, धनञ्जय दाहाल, हिमाल विष्ट र रुबिन महर्जनको टोलीले स्वर्ण जितेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले पदक विजेता र सहभागी खेलाडीलाई नगद पुरस्कारसमेत प्रदान गरेका थिए । प्रधानमन्त्रीको सक्रिय सहभागिता र सम्मानले टेबल टेनिसजस्ता व्यक्तिगत खेलहरूमा युवाको आकर्षण अझै बढ्ने अपेक्षा गरिएको छ ।