
कांग्रेसका शीर्ष नेताहरूले सात बुँदे सहमति कार्यान्वयनमा सरकारले अपेक्षित ढंगले काम नगरेको निष्कर्ष निकालेका छन् ।
पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा आइतबार बसेको बैठकमा सहभागी नेताहरूले गत असार १७ गते कांग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिअनुसार सरकार नचलेको निष्कर्ष निकाल्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
‘दुई ठूला दल मिल्दा पनि जनतामा निराशा झनै बढेको छ,’ एक नेताले भने, ‘सरकारको काम प्रभावकारी बन्न सकेको छैन । अब सुधार आवश्यक छ ।’
सरकारको नेतृत्वमा रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वयं सहभागी भेलामा यस्तो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त भएको हो । बैठकमा पार्टीको १५औँ महाधिवेशनलाई निर्धारित समयमा सम्पन्न गर्ने तयारीबारे पनि छलफल भएको छ ।
नेताहरूले देउवासँग सामूहिक भेट गरी महाधिवेशनबारे औपचारिक कुराकानी गर्ने तयारीसमेत गरेका छन् । साथै, देउवाको उत्तराधिकारी चयनका विषयमा समेत नेताहरूबीच निरन्तर संवाद भइरहेको स्रोतले जनाएको छ ।
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र पूर्वसहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए ।