
अमेरिकी पूर्व राष्ष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको उहाँको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
८२ वर्षीय बाइडेनले गत साता पिसाबसम्बन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाह लिएका थिए । शुक्रबार उनलाई क्यान्सरको निदान गरिएको हो ।
क्यान्सर रिसर्च यूकेका अनुसार “उहाँलाई भएको क्यान्सर रोग एक आक्रामक प्रकारको रहेको र जसको ग्रेड ग्लीसन स्कोर १० मध्ये ९ रहेको छ। यसको अर्थ क्यान्सर उच्च-ग्रेडको हो र क्यान्सर कोषहरू छिटो फैलिन सक्छन् भन्ने देखिन्छ ।”
बाइडेन र उहाँको परिवार अहिले उपचारका लागि विकल्पहरूबारे छलफल गरिरहेको समाचार छ । उहाँको कार्यालयले थप उल्लेख गरे अनुसार “यो क्यान्सर हर्मोन-सम्वेदनशील हो,जसको अर्थ यसको उपचार सम्भव छ र रोग नियन्त्रण गर्न सकिने सम्भावना धेरै छ।”
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्: “म र प्रथम महिला मेलानिया ट्रम्प जो बाइडेनको पछिल्लो स्वास्थ्य सम्बन्धी खबर सुनेर दुःखित भएका छौँ। हामी जोलाई चाँडो र सफल उपचारको कामना गर्छौं।”
पूर्व राष्ट्रपति बाइडेनलाई स्वास्थ्य र उमेरका कारण २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनबाट नाम फिर्ता लिन बाध्य हुनुपरेको लगभग एक वर्षपछि यो समाचार आएको हो ।
उनी अमेरिकी इतिहासमा राष्ट्रपतिको पदमा रहेर सेवा गर्ने सबैभन्दा जेठा व्यक्ति हुन्।
त्यतिबेला बाइडेन पुनःनिर्वाचनको लागि डेमोक्रेटिक उम्मेदवार थिए। तर जुन महिनाको टेलिभिजन बहसमा रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कमजोर प्रदर्शन गरेको भन्दै तीव्र आलोचनाको सामना गर्नुपरेपछि उनलाई डेमोक्रेटिक उम्मेदवारको रूपमा उपराष्ट्रपति कमला ह्यारिसले प्रतिस्थापन गरेकी थिइन्।