काठमाण्डौं, जेठ ५ :

सिराहामा लागू औषध खैरो हिरोइन कारोबार गर्ने दाजु बहिनीलाई पक्राउ गरि सार्वजनिक गरिएको  छ ।

सिराहा प्रहरीले लहान नगरपालिका-२२ बस्ने  दिनेश कुमार यादव र उनकी बहिनी किरण कुमारी यादवलाई आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो  ।पक्राउ परेका उनीहरूका साथबाट २०८.९० ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

उनीहरूका साथबाट  ५४ लाख ६५ हजार ७३५ रुपैयाँ नेपाली,३५ हजार ७८० रुपैयाँ भारु,६ थान मोबाइल र डिजिटल तराजु समेत बरामद भएको छ ।

गोप्य सूचनाको आधारमा लाहान नगरपालिका-१२ भोटिया टोलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय भोटिया चौकी र लागू औषध नियन्त्रण ब्यूरो गोल बजारको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

२ गते साँझ  मोटरसाइकलमा हिँडिरहेको अवस्थामा शंका लागि चेक जाँच तथा सोधपुछ गरिएको र  खानतलासी गर्दा निजहरूको साथबाट सेतो प्लास्टिकसहित खैरो हिरोइन २२.९० ग्राम र प्लास्टिक बिना २१ ग्राम सुरुमा बरामद गरिएको थियो  ।

उनीहरूको साथबाट ५१ हजार ४ सय ५० रुपैयाँ र दुई थान मोबाइल मात्र बरामद भएको थियो । पछि सोधपुछ गर्दै जाँदा उनीहरू बस्दै आएको घरको कोठाहरू खानतलासी गर्ने क्रममा प्लास्टिकसहित १८६ ग्राम र प्लास्टिकबाट १८० ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीको भनाइ छ ।

सँगसँगै ५४ लाख १४ हजार २८५ नेपाली रुपैयाँ र ३५ हजार ७८० भारु समेत घरबाटै बरामद गरिएको छ ।

उनीहरू विरुद्ध लागू औषध मुद्दा दर्ता भई जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सिराहा प्रहरीले जनाएको छ ।

यसअघि पनि यादवलाई २०८० साउन १२ गते खैरो हिरोईन प्लास्टिकसहित ४.४ ग्राम र प्लाष्टिकबिना ३.६ ग्रामसहित पक्राउ गरिएको थियो ।  लागू औषध मुद्दामा २०८० असोज २४ गते अदालतले उनलाई कारागार चलान गरिएको र  माघ ५ गते ६ महिना कैद भुक्तान गरी उनी छुटेका थिए ।

यस्तै सिरहा प्रहरीले ३ गते अर्का २ जना व्यक्तिलाई समेत खैरो हेरोइनसहित पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेहरुमा औरही गाउँपालिका ३ बस्ने २० वर्षीय कृष्ण कुमार यादव र तलसिपुर बस्ने १९ वर्षीय निरज राय रहेका छन् ।

उनीहरूलाई बरियारपट्टी गाउँपालिका ३ चमार टोल स्थित इलाका प्रहरी कार्यालय बरियापट्टीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भारत लदनियाबाट बरियारपट्टीतर्फ आउँदै गरेको मोटरसाइकल रोकी चेक जाँच गर्ने क्रममा उनीहरूको साथबाट ७१० मिलि ग्राम खैरो हिरोइन बरामद भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

निजहरु दुवैजनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सिराहा प्रहरीले जनाएको छ ।