काठमाण्डौं, जेठ ५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा लेदोसहितको पहिरोका जोखिममा रहेका बासिन्दाको उद्धार र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र  उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन समेत दिएका छन् ।

अध्यक्ष दाहालले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमासमेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।  

त्यहाँ हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको,पहिरोका कारण खानेपानीको संरचना,बाटो र पुलमा क्षति पुगेको,स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको कुराले झन गम्भीर हुन समेत बताएका छन् ।