काठमाडौं, जेठ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण  रिटमा सातौं पटकमा आएर सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो। लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत वैशाख ७ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन्।

यसअघि सो रिट ६ पटकसम्म 'हेर्न नमिल्ने' सूचीमा परेपछि सुनुवाइ हुन सकेको थिएन। अन्ततः सातौं प्रयासमा आएर मुद्दामा सुनुवाइ सुरु भएको हो।

रिटमार्फत लामिछानेलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै उनलाई अदालतमा उपस्थित गराउन माग गरिएको छ। अब अदालतले यसबारे के निर्णय लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।