काठमाडौं, जेठ ८ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज पनि आदेश नदिई ‘हेर्दाहेर्दै’मा राखेको छ।

दुवै पक्षका कानुनी प्रतिनिधि र सरकारी वकिलको बहस सकिएको छ। अब जाहेरवालाको बहस र जवाफी बहस बाँकी छ। लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आफ्नो बहस टुंग्याएपछि जोशी पक्षका वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए।

लामिछाने र जोशी दुवै जना बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवास्थित कारागारमा थुनामा रहेका छन्।

उक्त प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालत बुटवलले सो आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षमा पठाउने निर्णय गरेपछि लामिछानेले सर्वोच्चमा त्यसविरुद्ध पनि छुट्टै रिट दायर गरेका थिए। हाल यी दुवै रिटको संयुक्त रूपमा सुनुवाइ भइरहेको छ।