
वासिङ्टन डीसीमा रहेको यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किँदै गर्दा इजरायली दूतावासका दुई कर्मचारीहरूलाई गोली हानी हत्या गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
इजरायली दूतावासका अनुसार मारिएकाहरूमा सारा लीन मिलग्रिम र यारोन लिस्चिन्स्की रहेको बताइएको छ । उनीहरु जोडी थिए ।
हत्या गरेको आशंकामा ३० वर्षीय एलियास रोड्रिगेजलाई प्रहरीले पक्राउ गरेको छ । उनी शिकागोका बासिन्दा हुन्। शंकास्पद व्यक्ति रोड्रिगेज हाल अधिकारीहरूको नियन्त्रणमा छन् र बिहीबार अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको छ।
प्रहरीले उनलाई पक्राउ गर्दा उनले "फ्री प्यालेस्टाइन" भनेर चिच्याएका थिए । अधिकारीहरूले यस घटनाको सम्भावित आतंकवादी सम्बन्धमा अनुसन्धान गरिरहेको समाचार छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आक्रमणलाई धेरै दुःखद भएको बताउदै यो स्पष्ट रूपमा यहूदीविरोधी घृणामा आधारित भएको बताएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विश्वभर रहेका इजरायली दूतावासहरूमा सुरक्षा बढाइने घोषणा गरेका छन्।
त्यस्तै परराष्ट्र मन्त्री गिडेओन सारले यो गोलीकाण्डलाई विश्वभर इजरायल र यहूदीहरू विरुद्ध फैलिएको विषालु र यहूदीविरोधी उत्तेजनाको प्रत्यक्ष परिणाम भनेका छन्।
सारा मिलग्रिमका पिता रोबर्टका अनुसार सारा इजरायली दूतावासमा कार्यरत रहेको र उनको पढाइपछि पहिलो जागिर थियो।