काठमाण्डौं, जेठ ८ :

उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ युद्धपोत प्रक्षेपणको क्रममा आज भएको गम्भीर दुर्घटनाको निन्दा गरेका छन् ।  यो घटनालाई उनले असह्य आपराधिक कार्य भनेका छन् । पूर्वी बन्दरगाह सहर चोङजिनको एक जहाज निर्माण केन्द्रमा दु्र्घटना भएको हो ।

५ हजार टन क्षमताको डेस्ट्रोयरको तल्लो भाग कुचिएको र युद्धपोत असन्तुलित भएको राज्य सञ्चालित मिडियाले उल्लेख गरेको छ ।

किम प्रक्षेपणको समयमा स्वयम् उपस्थित थिए।  उनले आगामी जुन महिनामा हुने पार्टीको प्रमुख बैठकभन्दा पहिले युद्धपोतको मर्मत गर्न आदेश समेत दिएका छन्। साथै उनले उक्त पोतको डिजाइनमा संलग्न व्यक्तिहरूलाई जवाफदेही ठहर गर्दै यो घटनाले राष्ट्रको गरिमा र गर्वलाई एक क्षणमै गम्भीर रूपमा क्षति पुर्‍याएको बताएका छन् । यो घटनामा कुनै घाइते वा मृतक भएको उल्लेख गरिएको  छैन।

किमले  दुर्घटनाको कारणलाई पूर्ण लापरवाही,गैरजिम्मेवारीपन र गैरवैज्ञानिक अनुभव ठहर गरेका छन्।

उनले  संलग्न व्यक्तिहरूका गैर जिम्मेवार गल्तीहरूको बारेमा आगामी महिना हुने पार्टीको पूर्ण बैठकमा कारबाही गरिनेछ। उनीहरूले कस्तो सजाय भोग्नेछन् भन्ने अझै स्पष्ट छैन। तर उत्तर कोरियाको अधिनायकवादी शासनको मानवअधिकार अभिलेख अत्यन्तै खराब रहेको छ।

उत्तर कोरियाले आफ्ना आन्तरिक दुर्घटनाहरू सार्वजनिक रूपमा खुलासा गर्नु दुर्लभ मानिन्छ । यद्यपि विगतमा केही पटक यस्तो गरेको छ।

गत नोभेम्बरमा उत्तर कोरियाले छ महिनाअघि आकाशमै विस्फोट भएको एक सैन्य उपग्रहको घटनालाई सबैभन्दा गम्भीर असफलता भनेर वर्णन गरेको थियो र तयारी गैरजिम्मेवारीपूर्वक गरिएको भन्दै अधिकारीहरूको आलोचना भएको थियो।

अगस्ट २०२३ मा पनि अर्को असफल उपग्रह प्रक्षेपणलाई राज्यले आपतकालीन बुस्टिङ प्रणालीमा भएको गल्तीको कारण देखाएको थियो र त्यसलाई ठूलो समस्या होइन भनेर उल्लेख गरेको थियो।

बिहीबारको यो दुर्घटना उत्तर कोरियाले देशको पश्चिमी किनारमा नयाँ ५ हजार टन क्षमताको युद्धपोत सार्वजनिक गरेको केही हप्तापछि भएको हो। उक्त युद्धपोत ७० भन्दा बढी मिसाइल बोक्न सक्षम भएको बताइएको थियो।

किमले उक्त युद्धपोतलाई देशको नौसैनिक शक्ति आधुनिकीकरणमा एउटा ठूलो उपलब्धि भनेर वर्णन गरेका थिए र यसलाई आगामी वर्षको सुरुतिर नै परिचालन गरिने बताएका थिए।