काठमाण्डौं, जेठ ११ :

नेपालका १० वटा वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने भएको छ  ।

बङ्गलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीले नेपालका वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने भएको हो । राष्ट्र बैङ्कले नेपालका १० वटा वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण गर्नका लागि बङ्गलादेशी कम्पनीलाई छनोट गरेको हो ।

राष्ट्र बैङ्कले एक सूचनामार्फत इच्छुक विदेशी लेखा परीक्षकलाई नेपालका वाणिज्य बैङ्कको व्यापक सम्पत्ति गुणस्तर समीक्षा (लोन पोर्टफोलियो रिभ्यु–एलपिआर) का लागि आशयपत्र बुझाउन आह्वान गरेको थियो । त्यसमा  हाउलादर,श्रीलङ्का,भारतका अन्य पाँच कम्पनी सर्टलिस्टमा परेका थिए ।

राष्ट्र बैङ्कको नियमावली अनुसार लोन पोर्टफोलियो रिभ्यु गर्न उक्त कम्पनी प्राविधिक रूपमा योग्य पाइएको राष्ट्र बैङ्कले जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफको सर्तबमोजिम धेरै कर्जा प्रवाह गरेका १० ठुला बैङ्कको विदेशी अडिटरबाट लेखापरीक्षण गर्न लागिएको हो ।

यसअघि १० ठुला बैङ्कको लेखा परीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखा परीक्षण कार्य रद्द भएको थियो ।

आइएमएफसँग विस्तारित कर्जा सुविधा लिने क्रममा नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले १० ठुला बैङ्कको अन्तर्राष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए ।

आइएमएफले विस्तारित कर्जा सुविधा इसिएफ अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि मार्च २०२३ मा उक्त सर्त राखेको थियो ।

आइएमएफले बैङ्कहरूको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको उल्लेख गर्दै तत्काल १० ठुला बैङ्कको ऋण पोर्टफोलियो समीक्षा गर्नुपर्नेमा जोड दिएको हो ।

आइएमएफसँग करिब ४० करोड अमेरिकी डलरको विस्तारित कर्जा सुविधा लिएको नेपालले यसको चौथो किस्तासमेत लिइसकेको छ ।