काठमाण्डौं, जेठ ११ :

भारतको हिमान्चल प्रदेशको कुल्लु जिल्लामा शनिबार साँझ भारी वर्षापछि आएको आकस्मिक बाढीका कारण सडक छेउमा पार्क गरिएका करिब २० देखि २५ सवारीसाधन क्षतिग्रस्त भएको अधिकारीहरूले जनाएका छन्। घटनामा कुनै मानवीय क्षति भएको छैन।

निर्मण्डको जगत खाना नजिकको सुख्खा शर्षया नालामा भारी वर्षाले आकस्मिक बाढी आएको थियो जसले गर्दा सडक किनारमा पार्क गरिएका २० देखि २५ वटा सवारीसाधनमा क्षति पुर्‍याएको हो।

बाढीले बगाएको सवारीसाधन र मलबा बगिरहेको दृश्य देखिने भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेका छन् । सतलुज नदीको जलस्तर पनि बढेको छ ।

स्थानीय मौसम विज्ञान केन्द्रले मे २७ र २८ का लागि सबै १२ वटै जिल्लामा गड्याङगुडुङ्सहितको चट्याङ र प्रति घण्टा ४० देखि ५० किलोमिटर वेगको हुरीसहितको मौसमका लागि पहेँलो सतर्कता समेत जारी गरेको छ।

यसैगरी आज बिहान र दिल्ली र वरपरका क्षेत्रहरु भारी वर्षा र गडगडाहटसहितको हुरीबाट प्रभावित भएको छ ।खराब मौसमका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय उडान सेवामा समेत अवरोध भएको थियो ।

भारतमा एक हप्ताअघि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिट्टै भित्रिने

भारतमा सरदरभन्दा एक हप्ता अघि नै मनसुन प्रवेश गरेपछि नेपालमा पनि मनसुन भित्रिने अनुमान मौसमविदहरुले गरेका छन् ।

भारतको केरलामा सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गरेपनि यस वर्ष भने मनसुन भारतमा २४ मे मा नै भित्रिएको छ । त्यसैले ‘यस वर्ष नेपालमा पनि छिट्टै मनसुन भित्रिने सम्भावना रहेको छ ।

मनसुन भारतको केरलामा प्रवेश गरेको र राजधानी नयाँदिल्लीसहितका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । भारतमा १६ वर्ष पछि मनसुन छिट्टो भित्रिएको छ ।