
सरकारले ल्याउन लागेको प्रस्तावित निजामती सेवा विधेयकविरुद्ध निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
वृत्ति विकास, सरुवा, बढुवा र सेवासुविधा कटौतीजस्ता प्रावधानप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन्।
नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले आन्दोलनका ११ बुँदे माग प्रस्तुत गर्दै विधेयकले कर्मचारीको अधिकार कटौती गर्न खोजेको आरोप लगाए।
उनका अनुसार, पाँच वर्ष सेवा गरेका कर्मचारीको एक तह र दश वर्ष सेवा गरेका कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने माग गरिएको छ। शाखा अधिकृतलाई पाँच वर्षमै खुला प्रतिस्पर्धामा सहभागी हुन दिने पुरानो व्यवस्था कायम राख्नुपर्ने र अन्तरप्रदेश सरुवाको व्यवस्था गरिनुपर्ने पनि प्रमुख मागहरूमा पर्छन्।
कटुवालले एउटै प्रक्रिया भएर नियुक्त भएका कर्मचारीहरूलाई संघ, प्रदेश र स्थानीय तहमा समेट्ने स्पष्ट नीति बनाउन आग्रह गरे। करारमा रहेका कर्मचारीलाई पनि उपयुक्त व्यवस्थासहित सम्मानजनक रूपमा समेटिनु पर्ने उनको भनाइ छ। ट्रेड युनियन सञ्जालले ११ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।