काठमाण्डौं, जेठ १२ :

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालैका रुसी आक्रमणपछि अमेरिकाको मौनताले राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

यो टिप्पणी मस्कोको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि आएको हो।उक्त राति रुसले ३ सय ६७ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । जुन सन् २०२२ मा पुटिनले युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गरेपछि एकै रातमा भएको सबैभन्दा ठूलो आक्रमण हो।आक्रमणमा तीनजना बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान गएको छ ।

देशभर फैलिएका आक्रमणहरूमा दर्जनौं घाइते भएका छन्। यी आक्रमणहरू राजधानी किएभमा केही महिनामा भएको सबैभन्दा भीषण आक्रमणको भोलिपल्ट भएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पुटिनले गरिरहेको कुराबाट आफू खुसी नभएको र पुटिनले धेरै मानिसहरूलाई मारिरहेको बताएका छन् । 
गत शनिबार रुसले २ सय ९८ ड्रोन र ६९ क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रयोग गरेर आक्रमण गरेको युक्रेनको वायु सेनाले जनाएको छ । वायु सेनाका अनुसार ४५ क्रुज मिसाइल खसालिएको र २ सय ६६ यूएभी (ड्रोन) नष्ट गरिएको छ। युक्रेनका अधिकांश क्षेत्रहरू प्रभावित भएका छन् भने २२ स्थानहरूमा प्रहारको पुष्टि भएको छ। ३० भन्दा बढी सहर र गाउँहरूमा उद्धारकर्मीहरूले काम गरिरहेको राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायबाट लगातार युद्धविरामको आह्वान भइरहँदा पनि रुसले आफ्नो हवाई आक्रमण जारी राखेको छ र युद्ध रोकिने कुनै संकेत देखिएको छैन।जेलन्स्कीले रुसी नेतृत्वमाथि कडा दबाब नदिएसम्म रुसी क्रूरतालाई रोक्न नसकिने प्रतिक्रिया दिएका छन् ।