काठमाण्डौं, जेठ १२ :

नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छ ।

बैठकमा राजनीतिक समसामयिक गतिविधि,पार्टीका पछिल्ला गतिविधि,आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुने सो पार्टीले जनाएको छ । 
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठिरहेका बेला कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

कांग्रेसकै केही नेताहरूले गृहमन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा दिएर छानबिनका लागि सहज वातावरण बनाउन भनेका छन् भने केहीले भने मन्त्रीले राजीनामा दिनु नपर्ने अभिव्यक्ति दिएका छन् । हिजो बसेको कांग्रेस र एमालेको संयुक्त बैठकमा पनि आरोप लगाउदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने नेताहरुले बताएका थिए ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकसँगै प्रमुख सचेतक श्याम घिमिरे पनि सहभागी भएका छन् । आजको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता छ भन्ने आरोप लागेको बिषयमा पनि छलफल हुने बताईएको छ ।

भोली बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको गृहमन्त्रीले बताएका छन्।

पार्टीको क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूबारे पनि छलफल भइरहेको छ।