
काठमाडौं, जेठ १२ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ ।
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वय बस्न लागेको हो ।
अपराह्न ४ बजे बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा उठेका प्रश्नमा छलफल गर्ने तयारी रहेको कार्यवाहक प्रवक्ता मनीष झाले जनाए ।
रास्वपाले गृहमन्त्री लेखकको राजीनामा मागेको छ । रास्वपाले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठक अवरोध गर्नेसम्मको चेतावनी पनि दिएको छ ।
रास्वपा मात्रै नभई माओवादीसहित विपक्षी दलहरु भोलि (मंगलबार) सदनमा कडा रूपमा प्रस्तुत हुने रणनीति बनाउँदै छन् ।
यसबाहेक संसदमा रास्वपाको भूमिकालगायत अन्य समयसामयिक परिस्थितिबारे पनि छलफलको तयारी छ ।