काठमाडौं, जेठ १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले गरेको पछिल्लो आदेशलाई अन्यायपूर्ण भनेको छ। यद्यपि, पार्टीले अदालतको आदेशको पूर्ण पालना गर्ने निर्णय लिएको छ।

रास्वपाको केन्द्रीय समितिको बैठकले आदेशप्रति असहमति जनाउँदै त्यसलाई ‘विवेकका दृष्टिबाट अपूर्ण र राजनीतिक प्रतिशोध प्रेरित’ रहेको टिप्पणी गरेको हो। पार्टीले लामिछानेविरुद्ध भइरहेको घटनालाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै त्यसविरुद्ध देशव्यापी अभियान सुरु गर्ने भएको छ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ सुरु गर्ने निर्णय गरेको जानकारी दिए। उक्त अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरा तोकिएका छन्।

‘देश–विदेशमा रहेका आम नेपाली माझ रास्वपामाथि भइरहेको अन्याय र प्रतिशोध उजागर गर्ने गरी अभियान सञ्चालन हुनेछ,’ प्रवक्ता झाले बताए।

यसैबीच, रास्वपाले भिजिट भिसासम्बन्धी विषयमा गम्भीर छानबिनको माग गरेको छ। दोषीमाथि कडा कारबाहीको माग गर्दै पार्टीले आफ्ना सांसदहरुलाई संसद्मा प्रभावकारी पहल गर्न निर्देशन दिएको छ।

पार्टी केन्द्रीय समितिको बैठकले सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठको सहमहामन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। त्यस्तै, केन्द्रीय सदस्य अनिल केशरी शाहको प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामालाई पनि अनुमोदन गरिएको छ।