
टीआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिकले नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । टीआईए सिनियर ब्वाइज, पारामाउन्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बने ।
बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा टीआईएले न्युटनलाई २१-१२ ले पराजित गर्यो । जुनियर ब्वाइजको फाइनलमा पारामाउन्टले ज्ञान निकेतनलाई १९-७ ले हरायो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले त्रिज्योतिलाई २१-८ ले पाखा लगायो ।
सिनियर ब्वाइजमा टीआईएका वरदान थापा, जुनियर ब्वाइजमा पारामाउन्टका सुदीप घले र सिनियर गर्ल्समा भ्याली पब्लिककी दृष्य गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई टोखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बीसी, टोखा नगर प्याब्सनका अध्यक्ष एवं स्किब्सका प्रिन्सिपल अरुण केसी, पारामाउन्टका प्रिन्सिपल मुकुन्द पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा २३ र सिनियर गर्ल्समा १६ टिम सहभागी थिए ।