
त्रिभुवन आर्मी क्लबले प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफलाई २०-५ ले पराजित गर्यो । उपाधिसँगै आर्मीले १ लाख नगद पुरस्कार हात पार्यो भने एपीएफले ५० हजार नगद पुरस्कार पायो ।
सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोग तथा व्यवस्थापनामा भएको प्रतियोगितामा आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी घोषित भइन् । सोरेनले ७ हजार नगद पुरस्कार पाइन् ।
विजेतालाई पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, माओवादी केन्द्र झापा जिल्लाका इन्चार्ज रन्जित तामाङ, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकेडेमीले प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीपछि ब्याडमिन्टन, फुटसल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्नेछ ।