
जापानको टोकियोबाट टेक्सास जाँदै गरेको एउटा विमानमा एक यात्रुले उडानकै क्रममा विमानको ढोका खोल्ने प्रयास गरेपछि आपतकालीन अवतरण गर्नु परेको छ ।
अल निप्पन एयरवेज (ANA) को फ्लाइट 114 उडेको केही घण्टामै एक यात्रुले असामान्य व्यवहार गरेपछि सिएटलतर्फ विमान मोडिएको कम्पनीले जनाएको छ।
सिएटलको विमानस्थल सुरक्षाकर्मीका अनुसार उनीहरूलाई एउटा पुरुषले उडानको क्रममा आपतकालीन ढोका खोल्ने प्रयास गरे भन्ने सूचना प्राप्त भएको थियो।
ती पुरुष जसको नाम खुलाइएको छैन । उनी चिकित्सकीय संकटमा थिए र उनलाई अन्य यात्रु तथा उडान कर्मचारीहरूले समातेर नियन्त्रणमा लिनुपरेको थियो। पछि उनलाई अस्पताल लगिएको थियो। उनीमाथि आरोप लगाइने वा नलगाइने भन्ने भने स्पष्ट भएको छैन।
यस घटनामा स्थानिय सुरक्षा निकायको सहयोगको लागि ANA ले विज्ञप्ति मार्फत आभार व्यक्त गरेको छ।
सिएटल-टकौमा अन्तर्राष्ट्रिय विमानस्थलको टारम्याकमा विमान रोकिँदा दोस्रो एक व्यक्तिलाई पनि अशिष्ट व्यवहारका कारण विमानबाट निकालिएको अधिकारीहरूले जनाएका छन्।
उडान तथ्याङ्क अनुसार विमान शनिबार स्थानीय समय अनुसार दिउँसो १२:४० मा गन्तव्यस्थल ह्यूस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल एयरपोर्टमा पुगेको थियो जुन निर्धारित समयभन्दा चार घण्टा ढिलो हो। यसप्रकारको घटना भने नौलो होइन ।
अप्रिल महिनामा जेटस्टारको एक उडान बाली इन्डोनेसियाबाट मेलबर्न अस्ट्रेलिया जाँदै गर्दा एक यात्रुले उडानकै बीचमा ढोका खोल्ने प्रयास गरेपछि विमान फर्कन बाध्य भएको थियो।
नोभेम्बरमा अमेरिकन एयरलाइन्सको एक उडानमा एक व्यक्तिले ढोका खोल्ने प्रयास गरेपछि अन्य यात्रुहरूले उनलाई बाँधेका थिए।
त्यस्तै नोभेम्बर २०२३ मा दक्षिण कोरियाको एउटा विमानस्थलमा अवतरण गर्नु अघिको समयमा एक व्यक्तिले आपतकालीन ढोका खोल्न सफल भएपछि एसियाना एयरलाइन्सको उडानका नौ यात्रुहरू सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएका थिए।