
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी। फाइल तस्बिर।
जेठ १५ को लागि तय भएको राजसंस्था पुनर्स्थापनासहितको आन्दोलनलाई सरकारले असहिष्णुता देखाएको भन्दै राप्रपाका नेताहरूले आपत्ति जनाएका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले मंगलबार काठमाडौंमा सञ्चार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘१५ चैतजस्तै अवस्था १५ जेठमा पनि नदोहरियोस् भन्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘तर प्रधानमन्त्रीको ‘काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्तिले असहिष्णुता देखाउँछ।’
सुवेदीले आन्दोलन अहिंसात्मक हुने स्पष्ट पारे पनि सरकारले भिडन्तको वातावरण बनाइरहेको दाबी गरे। ‘प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आफैँमा आपत्तिजनक छ, तपाईं पत्रकारहरू साक्षी बस्नुहोस्," उनले आग्रह गरे।
यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजका लागि यो समय सबैभन्दा उपयुक्त रहेको बताए। उनले हालसम्म छुट्टाछुट्टै रहेका राजावादी धाराहरू अहिले एक ठाउँमा उभिन थालेको उल्लेख गर्दै यो ऐतिहासिक अवसर भएको बताए ।
थापाले वर्तमान सरकार गणतन्त्रको आलोचना गरेकै आधारमा 'राज्यद्रोह'को आरोप लगाउने कानुन ल्याउन खोजेको भन्दै त्यसको विरोध पनि गरे।