
प्रधानमन्त्री केपी ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (मंगलबार) भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले ओलीसमक्ष प्रतिवेदन पेस गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकारले बनेकाले ती काममा केन्द्रले आफ्ना तर्फबाट प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा रहेकाले नियमित रिपोर्टिङ गर्ने र निर्देशन लिने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिए । विकास र सुशासनको शत्रु भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्ने ओलीको भनाइ छ ।
कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालसहित उच्चाधिकारीहरु सहभागी थिए ।
प्रतिवेदनमा १६औं योजनाको लक्ष्यअनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँच आदि कार्य गर्दै आएको छ ।
अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्छ । सुशासन कायमका लागि २०५९ साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सतर्कता केन्द्र स्थापना भएको हो ।