
आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट आज (बिहीबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै छ ।
आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २:४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि प्रतिनिधिसभाको अपराह्न १:३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी राष्ट्रियसभाको अपराह्न १:४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले बजेट प्रस्तुतिका लागि भने सहमति जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमार्फत नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक प्रचलन छ ।