
पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई उच्च अदालतले सफाइ दिएपछि सरकारी वकिलले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
सरकारी वकिल कोषहरि निरौलाका अनुसार आलमसहित अभियुक्तविरुद्ध प्रचुर प्रमाणहरू छन्। उनले भने, ‘फैसला के आधारमा भएको हो, हेरेर सर्वोच्च अदालतमा पुनरावेदन गर्छौं।’
२०६४ सालमा रौतहटमा आलमको घरमा बम विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग लागेका आलमलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
तर उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले वस्तुनिष्ठ प्रमाण छैन भन्दै आलमलाई सफाइ दिएको हो। त्यसपछि उनी नख्खु कारागारबाट रिहा भइसकेका छन्।
घटनापछि वर्षौं ढिलाइ भए पनि सर्वोच्च अदालतको आदेशपछि मात्र अनुसन्धान अगाडि बढेको थियो। अब सरकारी वकिलले फैसलाको पूर्ण पाठ आएपछि सर्वोच्चमा पुनरावेदन गर्ने बताएका छन्।