
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र एल्युमिनियम आयातमा लाग्ने भन्सार महसुल २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेका छन् ।
यो भन्सार शुल्क आगामी बुधबारदेखि लागू हुनेछ।
पेन्सिल्भेनियाको पिट्सबर्गमा आयोजित एक र्यालीमा बोल्दै ट्रम्पले यो कदमले स्थानीय स्टील उद्योगलाई प्रोत्साहन गर्ने,राष्ट्रिय आपूर्ति बढाउने र चीनमा निर्भरता घटाउने बताएका छन् ।
ट्रम्पले अमेरिकाको युएस स्टील र जापानको निप्पोन स्टीलबीचको साझेदारीमार्फत उक्त क्षेत्रमा १४ अर्ब डलर लगानी गरिने पनि बताएका छन् । तरउक्त साझेदारीबारे भने विस्तृत विवरण अझै स्पष्ट छैन र दुवै कम्पनीले सम्झौताबारे पुष्टि समेत गरिसकेका छैनन्।
ट्रम्पले गत जनवरीमा दोस्रो कार्यभार सम्हालेपछि नीति परिवर्तनहरूमध्ये भन्सार नीतिमा लिएको यो निर्णय पछिल्लो हो।
र्यालीमा उपस्थित स्टील कामदारहरूको भिडलाई सम्बोधन गर्दै ट्रम्पले भने कि “कुनै पनि श्रमिकको जागिर जानेछैन र बाह्य देशमा काममा पनि पठाइने छैन। हरेक अमेरिकी स्टील कामदारले छिट्टै ५ हजार डलर बोनस पाउनेछन् ।"
ट्रम्प प्रशासनका केही विश्वव्यापी भन्सार नीतिको वैधानिकतामाथि अदालती मुद्दा चलिरहेका बेला ट्रम्पको यो घोषणा आएको छ । तर स्टील र एल्युमिनियममा लागेका भन्सार करहरू भने उक्त मुद्दाबाट प्रभावित भएका छैनन्।
भन्सार शुल्क वृद्धिले चीन र अमेरिकाबीचको सम्बन्ध झनै बिगारेको छ। यी दुई विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र बीच एक अर्का विरुद्ध भन्सार युद्ध सुरु भएको छ।