
अविरल वर्षाका कारण कोशी राजमार्गको भेडेटार मुलघाट खण्ड अवरुद्ध भएको छ । कोशी राजमार्गको दुई स्थानमा सडक भत्किएको छ ।
धरान धनकुटा राजमार्गको फेदीमा करिब सय मिटर बाटो लेउती खोलाले बगाएको छ । अहिले दुवैतर्फबाट आवतजावतमा पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
त्यस्तै सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ ।
दुबै स्थानमा सडक भत्किए पछि कोशी पहाडबाट नराई तथा काठमाडौँ जाने तथा तराइवाट कोशी पहाड जाने सबारी साधन बाटैमा रोकिएका छन् ।
त्यस्तै तमोर कोरिडोर पनि अवरुद्ध भएको छ । धनकुटा चौबिसे गापा ४ निर्माणधिन तमोर कोरिडोर सडक खण्डको छरुवा खोलामा बाढीले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
पछिल्लो चौबिस घन्टामा देशका पूर्वी जिल्लाहरु इलाम,झापा,मोरङ,सुनसरी र धनकुटाका धेरै स्थानमा भारी वर्षा मापन भएको छ। इलाम र झापामा अति भारी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।