काठमाडाैं, जेठ १७ :

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई पार्टीभित्रको विवाद सार्वजनिक रूपमा नउछाल्न सुझाव दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणका कारण गृहमन्त्री रमेश लेखकमाथि कांग्रेसभित्रैबाट राजीनामाको माग उठिरहेको सन्दर्भमा ओलीले यस्तो टिप्पणी गरेका हुन्।

शनिबार १३औं कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘पार्टीभित्र केही समस्या हुनु सामान्य हो, तर त्यसलाई घरभित्रै मिलाउनुपर्छ। आँगनमा निस्केर तमासा गर्नु उचित होइन।’

प्रधानमन्त्रीले दलभित्र व्यक्तिगत आकांक्षा र असहमति हुन सक्ने बताए पनि त्यसले सामाजिक वातावरणमा नकारात्मक असर पार्ने भएकाले संयमता अपनाउनुपर्ने बताएका छन्। ‘घरभित्र झगडा गर्नु, त्यो पनि ठीकै हो,’उनले भने, ‘ तर आँगनमा निस्किएर वल्लो पल्लो छिमेकीलाई डिस्टर्ब गर्नु ठीक होइन ।’

ओलीले सार्वजनिक वादविवाद र आरोप–प्रत्यारोपले वातावरणमै प्रदूषण ल्याउने भन्दै त्यसबाट जोगिन कांग्रेसलाई सुझाव दिएका छन्। विपक्षीहरूले उठाएका मुद्दाहरूलाई आधारहीन भन्दै उनले गृहमन्त्रीमाथिको मागप्रति पनि असन्तुष्टि जनाए।