झापा, जेठ १७ :

 झापामा निर्माणाधीन एसियन हाइवे अन्तर्गतका तीनवटा डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्गको यातायात प्रभावित भएको छ।

गएको राति लगातारको वर्षापछि मेचीनगरस्थित कालीखोला, ढुकुरे खोला र चारआलीको एनिमल अन्डरपासको डाइभर्सन बगाएको हो। डाइभर्सन बगेपछि आज बिहानदेखि राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो।

काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत भई गाडी सञ्चालनमा आइसकेको छ भने एनिमल अन्डरपासको मर्मत कार्य जारी छ।

मनसुन अपेक्षाभन्दा चाँडै सुरु भएकाले बलियो डाइभर्सन बनाउन नभ्याएको आयोजना प्रमुख पन्तले बताए। यातायात अवरुद्ध भएपछि ट्राफिक प्रहरीले वैकल्पिक सडकमार्फत गाडी घुमाएर सञ्चालन गरिरहेको छ।

एसियन हाइवेको पूर्वीखण्डको स्तरोन्नति एसियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा भइरहेको छ। निर्माण कार्य एभ्रास्कन–कालिका जेभीले गर्दै आएको हो।

आयोजना कार्यालयका अनुसार अब १५ दिनभित्र सबै कल्भर्टमाथि दुईतर्फी सवारी चल्ने गरी निर्माण कार्य सम्पन्न गर्ने तयारी छ।