पोखरा, जेठ १८ :

गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ यातायात ऐनको विरोधमा आज पनि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द भएको छ। 

बन्दका कारण पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर काठमाडौँ र चितवन पठाएको छ। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले आज बिहान १० बजेदेखि २५ वटा बस स्कर्टिङ गरिएको जानकारी दिए। शनिबार पनि यस्तै गरी यात्रु पठाइएको थियो।

स्कर्टिङ सशस्त्र प्रहरी बल कालिका गण कास्की र नेपाल प्रहरीले कोत्रेसम्म गर्दै आएको छ। त्यसपछि तनहुँको मनकामना गणले नेपाल प्रहरीसँग मिलेर मुग्लिन हुँदै यात्रुहरूलाई बागमती प्रदेशको सीमासम्म पुर्‍याएको हो।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गर्दै आएको छ।। यसले गर्दा सयौँ यात्रु पोखरामा अलपत्र परेका छन्। गण्डकी सरकारले रातो नम्बर प्लेट भएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी साधनलाई यात्रु ओसारपसार गर्न पाउने व्यवस्था सहितको ऐन ल्याएपछि देशभरका यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् ।