
अमेरिकाको कोलोराडो बोल्डरस्थित एक मलमा एक व्यक्तिले मानिसहरूलाई आगो लगाएको घटनामा छ जना आगोले डढेर घाइते भएका छन् ।
घाइतेहरूको उपचार भइरहेको त्यहाको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न एक संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एफबीआई अधिकारीहरूले यस घटनालाई आतंकवादी हमला भनेपनि स्थानीय अधिकारीहरूले आक्रमणको उद्देश्यबारे निर्णय गर्न अझै चाँडो भएको बताउँदै अनुसन्धान जारी रहेको बताएका छन्।
आक्रमणकारीले आक्रमणका क्रममा "फ्री प्यालेस्टाइन" भनेर चिच्याएको बताएको छ।
प्रहरीका अनुसार आक्रमण हुँदा इजरायली बन्धकहरूको समर्थनमा शान्तिपूर्ण कार्यक्रम चलिरहेको थियो ।
आक्रमणकारीले जमिनमा प्रहार हुँदा विस्फोट भई आगो लाग्ने प्रकारका ज्वलनशील पदार्थ भएको बोतलहरू हानेको बताइएको छ।
एंटी-डिफेमेशन लिग ADL का अनुसार यो घटना यहूदीहरूको पर्व "शाभुओत"को पूर्वसन्ध्यामा भएको हो, जुन पर्व यहूदी धर्मावलम्बीहरूले सिनाइ पर्वतमा तोराह (धार्मिक ग्रन्थ) प्राप्त गरेको उत्सवका रूपमा मनाउने गर्दछन् ।