काठमाडौं, जेठ १९ :

यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई राइड सेयरिङमार्फत भाडामा सञ्चालन गर्न दिने निर्णयविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले हिजो एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका हुन्।

गण्डकी प्रदेश सरकारले संविधान र सवारी तथा यातायात व्यवस्था ऐन विपरीत निर्णय गरी, १० वर्ष पुराना दुईपांग्रे र १५ वर्ष पुराना चारपांग्रे निजी सवारी साधनलाई भाडामा चलाउने अनुमति दिएको व्यवसायीहरुको आरोप छ ।