काठमाडौं, जेठ १९ :

विश्वकप लिग २ को चौथो राउण्डको पहिलो खेलमा आज नेपाली क्रिकेट टोली स्कटल्याण्ड विरुद्ध मैदानमा उत्रदैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्ड कै मैदानमा सुरु हुदैछ । त्रिकोणात्मक यो सिरिजमा नेदरल्याण्ड्स पनि छ। नेपालले दोस्रो खेल नेदरल्याड्ससंग खेल्नेछ । त्यसैगरी तेस्रो खेल जुन ८ तारिखमा स्कटल्याण्डसंगै खेल्नेछ भने जुन १० तारिखमा नेदरल्याड्ससंग चौथो खेल खेल्नेछ ।

नेपाली टोली ७ महिना पछि ओडिआई क्रिकेटमा फर्कदैछ । २०२४ अक्टोबरमा अमेरिकाको डालासमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो ।  
मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले आज पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएको छ। त्यसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो ।

८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँनेछ ।