काठमाडौं, जेठ १९ :

सरकार र शिक्षक महासंघबीच वार्ता भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार मन्त्रालयको वार्ता टोली र महासंघबीच सकारात्मक छलफल भइरहेको छ र धेरै मुद्दामा सहमति बनिसकेको छ। 

मन्त्री पन्तले कर्मचारी तहमा सहमति भएपछि अन्तिम चरणको वार्तामा आफू सहभागी हुने जनाएका छन्। सोमबार बिहान पनि मन्त्रालय र महासंघबीच छलफल भएको थियो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतका केही फरक मतहरू समाधान भइसकेको जानकारी दिएका छन्। 

अध्यक्ष सुवेदीका अनुसार, अघिल्ला सहमतिको भाषा कानुनी रूपमा समायोजन गर्ने काम भइरहेको छ।  यसअघि नै सरकारले १५ असारभित्र विधेयक ऐनको रूपमा ल्याउने प्रतिबद्धता जनाएको छ।

शिक्षक महासंघसँग जारी वार्ताका कारण सोमबारका लागि तय गरिएको शिक्षा समितिको बैठक स्थगित गरिएको छ। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, सरकार वार्तामा व्यस्त भएकाले बैठक सारिएको हो।

गत १७ वैशाखमा सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री पन्तले अघिल्ला सरकारहरूले गरेका सहमतिबारे समय मागेका थिए।