
सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गएराति सहमति भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको सरकार र यातायात व्यवसायी बिचको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।
सङ्घीय सरकारले गण्डaकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । वार्तामा सहमतिलाई गण्डकी प्रदेश सरकारले समर्थन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको हो ।
अब छिट्टै सङ्घीय कानुन बन्ने अवस्था रहेकोले नियमावली स्थगित गर्नुपर्नेमा सहमति जनाएको स्वाँरको भनाई छ । गण्डकी प्रदेश सरकारले स्थगित गर्ने निर्णय नगरेसम्म यातायात संचालन नहुने पनि उहाले जानकारी दिनुभयो ।
संघ र प्रदेश सरकारले प्रक्रियागत विषयलाई फास्ट ट्र्याकबाट टुङ्ग्याउने प्रतिबद्धता जनाएकाले आज दिउँसो सम्ममा सार्वजनिक सवारी साधन चल्न सक्ने बताउनुभयो ।
यस्तै सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले गण्डकी प्रदेश सरकारले जारी गरेको निर्देशिका जसले रातो नम्बर प्लेटलाई कालो नम्बर प्लेटसरह मान्यता दिएको थियो त्यो स्थगित गर्ने सहमति भएको बताउनुभयो ।
राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक सवारी साधन बन्द गर्दै आन्दोलन गर्दै आएका छन् ।
गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका व्यवसायीले हिजोदेखि देशभरका यातायात ठप्प पारेका छन् ।