काठमाडाैं, जेठ २० :

यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

मंगलबार अबेर व्यवसायीहरुले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको हो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए।

आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि आज सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक-पटक वार्ता पश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।  

सङ्घीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले आज दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए ।