
सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको बहुप्रतीक्षित रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासले काभ्रेवासी पूर्णिमाया लामाले दायर गरेको रिटमा सो आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै २०६९ साउन १२ गते बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ‘मुद्दा नचलाउने’ भनेर गरेको निर्णय बदर भएको छ। यससँगै काभ्रेका अर्जुन लामाको हत्याका सम्बन्धमा अग्नि सापकोटालगायत माओवादी नेताहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।
१४ वर्षअघि सुरु भएको यो विवाद अब संवैधानिक इजलासको आदेशपछि नयाँ मोडमा प्रवेश गरेको छ।
२०६२ साल वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको भेलाबाट अगुवा व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी समूहले बेपत्ता पारेको आरोप लाग्दै आएको छ।
उनको पत्नी पूर्णिमायाले अग्नि सापकोटासहित सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम र नोर्बु मोक्तानको संलग्नता रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको आदेशले लामाको हत्यामा न्यायिक प्रक्रिया अघि बढ्ने आशा बलियो बनाएको छ।