काठमाडौं, जेठ २१ :

प्रधानमन्त्री केपी ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सिर्जना गर्ने युवाको साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गरेका छन् ।

बागबजारस्थित ‘आइडिया स्टुडियो’ मा आयोजित ‘नवप्रवर्तक युवाहरुसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्त्व दिइएको पनि बताए ।

‘युवाहरुले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुपर्छ । असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरु पनि ठीक होइन, त्यस्तो गर्नेहरु उल्टै पारिवारिक तनावमा परेका हुन्छन्,’ उनले भने, ‘अब युवाहरुले जब खोज्नेतिर होइन, जब सिर्जना गर्नेतिर लाग्नुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युवाहरु विदेश जाने क्रम रोक्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले युवाहरुले रचनात्मकतामा निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरुङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्‌प्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुडियो’ को सम्वर्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरुको प्रदर्शनी अवलोकन गरेका थिए । ‘आइडिया स्टुडियो’ का संस्थापक डा. छिरिङ लामा र काठमाडौं मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाहरुको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।