काठमाडौं, जेठ २१ :

नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भएको उल्लेख गर्दै त्यसका लागि सुरुआत गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले वर्तमान सरकार बन्दाखेरि नै संविधान कार्यान्वयनमा देखिएका जटिलताका सम्बन्धमा संशोधनको सहमति हो । यो ठीक छ । त्यसलाई गलत भन्दिन । त्यही कारणले सरकार बनेको हुनाले प्रक्रिया सुरु गर्नुपर्यो । समिति बनाउनुपर्यो । समय जति लागे पनि सुरुआत त गर्नुपर्यो नि ।”

नेता कोइरालाले सेयर राइडिङ प्रकरणका सम्बन्धमा केन्द्रले संविधानबमोजिम प्रदेशको अधिकार खुम्च्याउन खोजेको टिप्पणी गर्दै भन्नुभयो, "प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ? यसरी केन्द्रले हस्तक्षेप गर्न पाउँछ कि पाउँदैन ? यसमा सबैले बुझ्न जरुरी छ ।”

संसदमा पछिल्लो घटनाका सम्बन्धमा उहाँले आफूले अपेक्षा गरे अनुसार हुन नसकेको उल्लेख गर्दै संसदमा आरोप प्रत्यारोप हुन नहुने धारणा व्यक्त गर्नुभयो । “संसदले नीति बनाउने हो । अहिले जे भइरहेको, जति कुरा आइरहेका छन् । त्यसलाई निकास दिने बाटोहरू खोज्दै जानुपर्छ । त्यो राजनीतिक दलहरू मिलेर नै खोज्नुपर्ने हुन्छ", नेता डा कोइरालाले भन्नुभयो ।

उहाँले सर्वसाधारण जनतामा छाएको निराशालाई हटाउन सरकारसँगै सबै लाग्नुपर्ने उल्लेख गर्दै यसमा आफ्नो पार्टीले सक्दो भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।