
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्डलाई नियुक्त गरेको छ।
एन्फा स्रोतका अनुसार उनलाई एक वर्षको लागि जिम्मेवारी दिइएको छ। सो अवधिपछि प्रदर्शनको मूल्यांकन गरेर उनको कार्यकाल थप्ने वा नथप्ने निर्णय गरिनेछ।
यूईएफए लाइसेन्स प्राप्त प्रशिक्षक डी वाइल्डले उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटबाट नेपाली टोलीको प्रशिक्षण जिम्मा लिनेछन्।
प्याट्रिक बिहीबार बिहान नेपाल आइपुगेका छन्। उनी यसअघि नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत काठमाडौं रेजर्सको प्रशिक्षकको भूमिका निभाइसकेका छन्।
महिला टोलीको मुख्य प्रशिक्षक बन्न २२ जनाले आवेदन दिएका थिए, जसमा ४ महिला उम्मेदवार पनि थिए। सर्टलिस्टबाट अन्ततः प्याट्रिक छानिएका हुन्।
यद्यपि एन्फाले औपचारिक घोषणा भने केही दिनभित्र गर्ने बताइएको छ।
