
राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल बाहिरिएका छन् । उनले राजावादी आन्दोलन अब नयाँ शिराबाट आउने पनि उल्लेख गरेका छन् ।
‘एकजनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरू थिए । स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताका रूपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो,’ सामाजिक सञ्जालमा नेपालले लेखेका छन्, ‘उसले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गर्यो । तर बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुंग पारे, जनभावनालाई तुहाउन प्रयास गरे । तर युवाले तुहिन दिने छैन । आन्दोलन सफल भएरै छोड्ने छ । केही समयको मात्र धैर्य जरुरी छ । हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरू ढुक्क हुनुहोला ।’
राजावादी आन्दोलन अब नयाँ शिराबाट आउने उनको भनाइ छ । उनले ऐतिहासिक शान्तियुद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भन्दै आपत्तिसमेत जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउनेछ । साँच्चैका स्वतन्त्र नागरिकहरू, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्त्वको ऐतिहासिक शान्तियुद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भए ।’
नेपालको यो अभिव्यक्तिसँगै राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समिति फुटेको बुझ्न सकिन्छ ।